विराटनगर । भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा भएको भीषण आगलागीमा कम्तीमा दुई जना नेपालीको मृत्यु पुष्टि भएको छ। सात जना अझै  बेपत्ता छन् । सोमबार बिहान भएको घटनामा सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का दुई परिवारका नौ जना नेपाली प्रभावित भएका छन् ।

भारतीय समयअनुसार बिहान करिब साढे २ बजे बजार क्षेत्रमा रहेको एक घरमा आगलागी भएको थियो । आगो फैलिँदै जाँदा आसपासका १० देखि १५ वटा पसल तथा घर जलेर नष्ट भएका छन् । सो क्षेत्रमा रहेका ६–७ वटा ग्यास सिलिन्डर विस्फोट भएपछि आगो झनै फैलिएको बताइएको छ । आगलागी बिहान साढे ६ बजेतिर नियन्त्रणमा आएको थियो ।

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाका अनुसार घटनास्थलबाट दुई जना नेपालीको शव फेला परेको छ । शवको डीएनए परीक्षणका लागि पठाइएको छ । रिपोर्ट आएपछि मात्र मृतकको पहिचान खुल्नेछ,उनले जानकारी दिएका छन्  । अन्य सात जना नेपालीको अवस्था अझै अज्ञात रहेको र खोजी तथा उद्धार कार्य तीव्र बनाइएको छ ।

आगलागीमा परेका नौ जनामध्ये काशीराम कामी, उनकी पत्नी टीका विक, छोरी अनुकुमारी विक र छोरा सन्दिप विक एक परिवारका हुन् । यस्तै, धनबहादुर विक, उनकी पत्नी कविता विक, छोरीहरू राधा र रेनुका विक तथा छोरा राजन विक अर्को परिवारका सदस्य हुन् ।

सिद्ध कुमाख गाउँपालिका–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले भने प्रारम्भिक सूचनाअनुसार नौ जनाकै मृत्यु भएको जनाउँदै वडामा मंगलबार शोक बिदा दिइएको जानकारी दिए ।