विराटनगर।एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले विराटनगरको महेन्द्र चोकमा ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ। एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको मञ्चबाट पूर्व राजसंस्था र हिन्दु राज्य पुर्नस्थापनाको माँग राखेका छन् ।
नेपालमा जबसम्म पूर्व राजसंस्था र हिन्दु राज्यको पुनर्स्थापना हुँदैन, तबसम्म एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले संघर्ष गरिरहने संघर्ष समितिका अध्यक्ष बल्लभप्रसाद दाहालले मन्तव्य व्यक्त गरेका छन् ।
२०८२ साल भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनको क्रममा नेपालमा गणतन्त्र समाप्त भइसकेको र आफुलाई ठुला राजनैतिक दल भनेर दाबी गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरू विदेशीको शरणमा पुगेको अध्यक्ष दाहालले आरोप लगाएका छन् ।
नेपाल विद्धत परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेल, राप्रपा नेपालका कोशी प्रदेश अध्यक्ष माधव आचार्य, एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका उपाध्यक्ष दिनेश साह, उपाध्यक्ष रमा प्रसाईँ र वरिष्ठ सचिव पुष्पराज दाहाल लगायतका राष्ट्रवादी नेताहरूले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको मञ्चबाट देशलाई राजसंस्था र हिन्दु राज्यको आवश्यकता रहेको बताएका छन्।























