विराटनगर।अर्घाखाँची, पौष २५,लुम्बिनी वाङ्मय प्रतिष्ठान जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा साहित्यकार नारायण खनाल (नीलम)को कविता सङ्ग्रह ‘जिजीविषाको लय’ तथा गजलकार डिल्लीराज घिमिरे (सङ्गम)को गजल सङ्ग्रह ‘भँगेरी’को संयुक्त विमोचन सम्पन्न भएको छ।
प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद वस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सचिव तिर्थराज आचार्यले सञ्चालन गरेका थिए। उपाध्यक्ष कमल पोखरेलले उपस्थित महानुभावहरूलाई स्वागत गरे।
कार्यक्रममा कविता सङ्ग्रह ‘जिजीविषाको लय’माथि प्रतिष्ठानका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार माधवराज चुँदाली र ध्रुवबहादुर खत्रीले टिप्पणी गरे। यस्तै, गजल सङ्ग्रह भँगेरी’माथि कल्पना मरासिनी र विष्णुप्रसाद वस्यालले समालोचनात्मक धारणा राखेका थिए।
कार्यक्रममा स्रष्टा द्वय नीलम र सङ्गमसहित विष्णुप्रसाद वस्याल, कल्पना मरासिनी, कमल पोखरेल, तिर्थराज आचार्य, बुद्धिराम गैरे, इश्वरा पराजुली लगायतका साहित्यकारहरूले आ–आफ्ना रचना वाचन गरे।
उपस्थित सबै साहित्यप्रेमी महानुभावको सम्मान गर्दै सामूहिक रूपमा कृतिको विमोचन गरिएको कार्यक्रममा छुट्टै अतिथि निर्धारण नगरी सबैको सहभागितालाई समान रूपमा सम्मान गरिएको थियो। साहित्यिक माहोलले भरिएको उक्त कार्यक्रम सुखद र उत्साहपूर्ण रूपमा सम्पन्न भएको थियो।




















