विकास चाम्लिङ राई


विराटनगर।हङकङ ,याक्थुङ फिल्म्सको ब्यानरमा निर्माण गरिएको लिम्बु चलचित्र “सेमिफुङ” हङकङमा प्रदर्शन हुने भएको छ। याक्थुङ मुन्चइत चौक सराङ हङकङको आयोजनामा उक्त चलचित्र हङकङमा प्रदर्शन गर्न लागिएको हो।


निर्देशक रणवीर लिम्बु शेर्माद्वारा निर्देशित यो चलचित्र लिम्बु समुदायको मौलिक संस्कार, संस्कृति र परम्परामा आधारित छ। चलचित्रमा निर्माता समेत रहेका बविन आङदाम्बे, चन्दा थेगिम, सतिका सुव्बा, सिडी वेघा, निर्मला देवान, सङ्गीता लावती, त्रिभुवन लुङफुङा लगायतको मुख्य अभिनय रहेको छ।


हङकङस्थित याउ मा तेइ कम्युनिटी हलमा आगामी फेब्रुअरी १ तारिखका दिन चलचित्र प्रदर्शन हुने तय भएको छ। चलचित्रमा लिम्बु समुदायको संस्कार, संस्कृति र रीतिरिवाजमा आधुनिकतावाद र विभेदले पारेको प्रभावलाई चित्रण गरिएको कलाकार सङ्गीता लावतीले जानकारी दिइन्।


नेपाली खस र लिम्बु भाषा दुवैमा निर्माण गरिएको चलचित्र “सेमिफुङ”को अर्थ “उज्यालो फूल” रहेको छ। लिम्बु समुदायको संस्कार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्रलाई विदेशका विभिन्न सहरहरूमा प्रदर्शन गरिने लावतीले बताइन्। हङकङमा यसको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शन हुन लागेको हो। हङकङपछि युके, दक्षिण कोरिया लगायतका देशहरूमा पनि प्रदर्शनको तयारी भइरहेको उनले जानकारी दिइन्।


बविन आङदाम्बे र शेरबहादुर पतङवाको निर्माणमा बनेको चलचित्र “सेमिफुङ”को कथा तथा संवाद राज थापा काउचाको रहेको छ। विक्रम डिसी, भोगेन्द्र याम्फु, सन्देश मोथे र सुमन तामाङको छायांकन रहेको यो चलचित्र इलाम जिल्लाको माङसेबुङ क्षेत्रमा छायांकन गरिएको हो।


चलचित्रमा डिल्ली फोम्बो र अशोक लोहोरुङोको संगीत रहेको छ। चलचित्रको कुल लगानी करिब ५५ लाख रुपैयाँ रहेको निर्माण पक्षले जनाएको छ।