विराटनगर ।काठमाडौं , ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीका बीच उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुधबार राजीनामा बुझाएका हुन् ।
भदौ ३० गते मन्त्रीको रूपमा सपथ ग्रहण गरेका घिसिङले गैरदलीय सरकारमा दलका नेता मन्त्री बनेको विषयमा चर्किँदै गएको आलोचनाबीच पद त्याग्ने निर्णय गरेका हुन् । प्रधानमन्त्री कार्यालयले घिसिङले राजीनामा बुझाएको तस्बिरसमेत सार्वजनिक भैसकेको छ ।
राजीनामापछि घिसिङले बुधबार बेलुका पत्रकार सम्मेलन आयोजना गरी आफ्नो निर्णयबारे औपचारिक जानकारी गराउने तयारी गरेका हुन् । स्रोतका अनुसार निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन र राजनीतिक विवादलाई अन्त्य गर्न उनले समयमै पदबाट अलग हुने निर्णय गरेका छन् ।
यसअघि घिसिङले आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल’ नामक नयाँ राजनीतिक दल दर्ता गराएका थिए । तर हाल उक्त दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता भइसकेको छ ।




















