विराटनगर । विराटनगर–११ रोडशेषस्थित भिन्तुना गीत गजल’मा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर यौनधन्दामा लगाएको आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही होटलका सञ्चालक विराटनगर १२ का ३३ बर्षिय पर्शुराम कामत र विराटनगर ८ का २६ वर्षीय मनिष ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिएकि छन् ।
डिएसपी चुडालका अनुसार, गजलमा काम गर्ने किशोरीलाई भारतीय नागरिकहरूसँग यौनजन्य क्रियाकलाप गर्न बाध्य बनाइएर शारीरिक यातना दिने गरेको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
झापा घर भएकी ती किशोरी विगत पाँच महिनादेखि उक्त गजलमा काम गर्दै आएकी थिइन् ।
गजल सञ्चालक र त्यहाँ कार्यरत अर्का व्यक्ति मिलेर उनलाई एउटा कोठामा बन्धक बनाई शारीरिक यातना दिने तथा भारतीय ग्राहकसँग यौनसम्पर्क राख्न लगाउने गरेको खुलेको छ । सोमबार पनि आफुलाई सोही होटलको एक कोठामा बन्धक बनाएर राखेपछि प्रहरीलाई किशोरीले खबर गरेकी थिईन् । गोप्य सूचनाका आधारमा तत्काल वडा प्रहरी र बखरी प्रहरीको टोलीले पीडित किशोरीलाई ३ बजे तिर उद्धार गरेको थियो । पक्राउ परेका दुवै जनामाथि मानव बेचबिखन तथा शरीर बन्धक कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।




















