विराटनगर। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २० औँ साधारणसभा पुस २८ गते हुँने भएको छ । उक्त साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने क्रममा शैक्षिक परामर्श क्षेत्रका लोकप्रिय र अनुभवी व्यक्तित्व बासुदेव दाहाल उपाध्यक्ष पदका प्रत्यासी छन् । लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय उनको उम्मेदवारीलाई अनुभव, संघर्ष र सेवाभावको संयोजनका रूपमा हेरिएको छ ।
इनरुवा नगरपालिका–६, मधेसा, झकनझोराका स्थायी बासिन्दा दाहाल हाल काठमाडौंको बागबजारमा अवस्थित प्राञ्जल एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन् । उनको शैक्षिक परामर्श सेवाबाट लाभान्वित हुँदै एक हजारभन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययनको अवसर प्राप्त गरिसकेका छन् । विशेषगरी अष्ट्रेलियालाई मुख्य गन्तव्य बनाएर उनले गुणस्तरीय र विश्वासिलो शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका छन् ।
शैक्षिक पृष्ठभूमिका हिसाबले उनले मधेसाकै जनता माध्यमिक विद्यालयबाट एसएलसी तथा महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट स्नातक अध्ययन पूरा गरेका हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिक गतिविधिमा संलग्न रहेका उनि सुरुमा नेकपा एमाले र पछि सशस्त्र द्वन्द्वकालमा माओवादी राजनीतिमा आबद्ध थिए। त्यसक्रममा केही समय जेल जीवनसमेत बिताए।जेलमुक्तिपछि जीवनरक्षाका निम्ति काठमाडौं आएका उनी त्यहाँ रहँदा पनि पार्टी गतिविधिसँगै शैक्षिक क्षेत्रमा निरन्तर सक्रिय थिए ।
आफ्नो पेशागत यात्रा निजी विद्यालयको शिक्षकबाट सुरुगरि ललितपुर जिल्लालाई कर्मथलो बनाउँदै शिक्षण पेशामा संलग्न रहँदै शैक्षिक परामर्श क्षेत्रको सम्भावनालाई पहिचान बनाए। त्यहीँबाट प्राञ्जल एजुकेशन कन्सल्टेन्सीको स्थापना गरे । विगत सात वर्षदेखि उक्त कन्सल्टेन्सीलाई काठमाडौंको पुतलीसडक हुँदै हाल बागबजारमा सञ्चालन गर्दै आएका छन् ।
संस्थागत अनुभवका हिसाबले पनि इक्यानभित्र परिचित र अनुभवी नेतृत्व छन् । यसअघि इक्यानको सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका हुन् ।१९ औँ साधारणसभामा महासचिव पदका उम्मेदवारसमेत बनेका थिए । यसपटक भने उपाध्यक्ष पदमा विजयी हुने दृढ आत्मविश्वासका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ छ।
विगतमा इक्यानको सदस्य र सचिव रहँदा उनले खेलेको व्यवसायीमैत्री भूमिकाका कारण शैक्षिक परामर्श व्यवसायीबीच लोकप्रियता कमाएका थिए। शैक्षिक परामर्श क्षेत्रका समस्या, चुनौती, नियमन र व्यवसायीको हकहितका विषयमा स्पष्ट दृष्टिकोण राख्छन।
आउँदा दिनमा शैक्षिक परामर्श व्यवसायको विकास, पारदर्शिता र व्यवसायीको सामूहिक हितका लागि सम्पूर्ण समय र क्षमता खर्चिने उनले प्रतिबद्धता व्यक्त गरे । इक्यानलाई अझ सशक्त, मर्यादित र विश्वसनीय संस्था बनाउने उनको लक्ष्य रहेको छ ।
संघर्ष, अनुभव र सेवाभावको यात्राबाट नेतृत्वको तहमा पुगेका बासुदेव दाहालको उम्मेदवारी इक्यानको नेतृत्व चयनमा अर्थपूर्ण र भरोसायोग्य विकल्पका रूपमा हेरिएको छ ।




















