विराटनगर ,कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै सरकारमा नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्। यसअघि कार्यरत सबै मन्त्रीलाई हटाएर नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूलाई सहभागी गराउँदै नयाँ मन्त्रिपरिषद् गठन गरेको थियो ।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ मन्त्री र २ राज्यमन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराएका छन् ।

दुवै दलबाट चार–चार मन्त्री र एक–एक राज्यमन्त्री सहभागी छन् । पुनर्गठित मन्त्रिपरिषद्ले प्रदेश सरकारको कार्यसम्पादनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद् अनुसार प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र इन्द्रमणि पराजुलीले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

यसैगरी विदुरकुमार लिङ्थेपलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोलाई सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बुलाई स्वास्थ्य मन्त्रालय र इस्राईल मन्सुरीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त भएका छन् ।