विराटनगर।पर्सा प्रशासनले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९(क) बमोजिम वीरगञ्ज महानगरभित्र कर्फ्यु लागू गरिएको हो । कर्फ्यु अवधिभर सम्बन्धित क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउलगायत गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।
कर्फ्यु क्षेत्र पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म तोकिएको छ ।
वीरगञ्ज क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जानकारी दिए। यसअघि प्रशासनले सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा लागू गरेको थियो ।





















