विराटनगर।काठमाडौ ,नेपाली कांग्रेस आन्तरिक सत्ता संघर्षका कारण गम्भीर मोडमा पुगेको छ। पार्टी संस्थापन पक्षले २०८३ वैशाख २८, २९, ३० र ३१ गते १५औँ राष्ट्रिय महाधिवेशन गर्ने मिति सार्वजनिक गरेपछि संस्थापन इतर समूह असन्तुष्ट बनेको हो। उक्त समूहले २०८२ पुसभित्रै विशेष महाधिवेशन गराउनै पर्ने अडान लिएसँगै कांग्रेस विभाजनको संघारमा पुगेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीचको रणनीतिक मतभेद अहिले सतहमा आएको छ। महामन्त्रीद्वयले देउवाको कार्यशैलीविरुद्ध विद्रोही स्वर चर्काउँदै पुसभित्रै काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने तयारी थालेका छन्। त्यसका लागि हलसमेत बुक भइसकेको जनाइएको छ।

यस घटनाक्रमले कांग्रेसलाई १८ वर्षअघिको विभाजनको स्मरण गराएको छ। त्यतिबेला गिरीजाप्रसाद कोइराला सभापति हुँदा शेरबहादुर देउवा समूहले पार्टी विभाजन गरेको इतिहास छ। अहिले परिस्थिति उल्टिएको छ – देउवा सभापति हुँदा महामन्त्रीद्वय थापा र शर्माको कदमले पार्टी पुनः विभाजनतर्फ उन्मुख भएको चर्चा सुरु भएको छ।

संस्थापन पक्षले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि मात्रै १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ। तर संस्थापन इतर समूहका नेता गगन थापाले विशेष महाधिवेशनमार्फत आफू पार्टी सभापति चयन भई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा निर्वाचनमा जानुपर्ने अडान लिएका छन्। यही अडान कार्यान्वयन गर्न पुसभित्रै विशेष महाधिवेशन गराउने तयारी तीव्र बनाइएको छ।