विराटनगर । तराईका अधिकांश जिल्लामा अत्यधिक चिसो बढ्दै गएसँगै शीतलहरको प्रभाव तीव्र बनेको छ। पछिल्ला केही दिनदेखि घाम नलाग्ने, हुस्सु लागिरहने र चिसो हावासँगै तापक्रम एकाएक घट्दा जनजीवन प्रभावित भएको छ।
बिहान र साँझको समयमा बाक्लो कुहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित भएसंगै विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक र दैनिक ज्यालादारी मजदुरहरूमा बढी समस्यामा परेका छन्। चिसोका कारण बजार, सार्वजनिक स्थल र खुला क्षेत्रमा मानिसहरूले आगो बालेर तापेको देखिन्छ।
स्वास्थ्यकर्मीहरूले अत्यधिक चिसोले श्वासप्रश्वाससम्बन्धी रोग, रुघाखोकी, दम तथा उच्च रक्तचापका बिरामीलाई थप समस्या हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। न्यानो कपडा लगाउने, आगो ताप्दा सावधानी अपनाउने र अत्यावश्यक काम बाहेक बिहान–साँझ बाहिर ननिस्कन सुझाव दिइएको छ।
स्थानीय तहका वडा अध्यक्ष हिरालाल कामतले चिसोका कारण काममा समस्या भएको बताएका छन्।साथै सामाजिक संस्थाहरूले चिसोबाट प्रभावित विपन्न, वृद्धवृद्धा तथा सडकमा बसोबास गर्ने व्यक्तिहरूका लागि न्यानो कपडा वितरण र आश्रयस्थलको व्यवस्था गर्न थालेका छन्। मौसमविद्हरूका अनुसार केही दिन अझै शीतलहरको अवस्था कायमै रहने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन्।




















