विराटनगर ।पूर्वराजा ज्ञानेन्द्र शाह समर्थक तथा राजावादी दलका नेताहरूसमेतलाई जानकारी नदिई शनिबार बिहान विराटनगर आएका छन् । विराटनगर प्रवेश गरेका शाहको आवागमनमा ट्राफिक प्रहरी र सीमित सुरक्षाकर्मी मात्र परिचालन गरिएको थियो ।
उनको आगमनका क्रममा सर्वसाधारणको आवतजावतमा समेत कडाइ गरिएको थिएन । शनिमन्दिर चोक, जलजला चोक र काली मन्दिर आसपास अन्य दिनको तुलनामा केही बढी प्रहरी चहलपहल देखिएपछि स्थानीयले ‘को आउँदैछ ?’ भनी चासो व्यक्त गरेका थिए । प्रहरीबाट पूर्वराजा आउने जानकारी पाएपछि केही सर्वसाधारण काली मन्दिर अगाडि रोकिएका थिए।
प्रहरीका अनुसार पूर्वराजा शाह झापाको दमकबाट काली मन्दिर दर्शनका लागि विराटनगर आएका हुन् । दर्शनपछि उनी आराम तथा भोजनका लागि इटहरीस्थित सोल्टी होटलतर्फ प्रस्थान गरेका छन् ।




















