विराटनगर। प्रेस चौतारी मोरङले हरेक बर्ष प्रदान गर्दै आएको शालिग्राम मञ्जु दाहाल पत्रकारिता पुरस्कार रेनु पराजुलीलाई प्रदान गरिएको छ।प्रेस चौतारी नेपालको बधाई तथा शुभकामना कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा प्रेस चौतारी नेपालको अध्यक्ष चिना थापाको अध्यक्षतामा भएको कार्यक्रममा आफ्नो विचार राख्दै कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मतकुमार कार्कीले भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि एमाले ठिंग उभिन सफल भएको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले केही राजनीतिक दलहरू अझै उठ्ने प्रयासमै रहेको र कतिपय दल हावामा नै दौडिरहेको बताए ।

प्रेस चौतारी नेपाल मोरङ कार्यसमितिले आयोजना गरेको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार वितरण तथा एमालेको ११ औं महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य एवम् आयोग सदस्यमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना दिदै  मुख्यमन्त्री कार्कीले एमाले भने धुलो टकटक्याएर उठ्न सफल भएको उल्लेख गर्दै उभिनु नै अहिलेको अवस्थामा ठूलो सफलता भएको बताएका छन्।

वर्तमान मुलुकको परिस्थितिलाई मूल्यांकन गर्दा निर्वाचन शान्तिपूर्ण र भयरहित रूपमा हुने सम्भावना अझै प्रस्ट नभएको मुख्यमन्त्री कार्कीले बताए। उनले निर्वाचनले मात्र नेपालको विद्यमान समस्याको समाधान गर्छ भन्ने ग्यारेन्टीसमेत नरहेको उल्लेख गरे ।

प्रेस चौतारी मोरङले हरेक बर्ष प्रदान गर्दै आएको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ उदयपुरकी पत्रकार रेणु पराजुलीलाई प्रदान गरेको छ । पराजुलीलाई नगद २१ हजारसहित प्रमाणपत्र प्रदान मुख्यमन्त्री कार्कीले गरे। त्यसैगरी चौतारी मोरङले एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, दिलिप बगडिया, शिल्पा निराला कार्की र अनुशासन आयोग सदस्य राजमती इङनामलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।