विराटनगर ।वीरगन्ज , प्रहरीले श्रोत खुल्न नसकेको ६ लाख ७१ हजार ९५० रुपैयाँसहित तीन जनालाई वीरगन्जबाट पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत बेतिया जिल्लाको मथौली स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–२ छपकैयामा बस्दै आएका ५० वर्षीय अनवर मियाँ, सोही स्थानका २२ वर्षीय महमद कैफ अहमद तथा भारतकै बिहार राज्यको मोतिहारी जिल्लास्थित गम्हरियाकला घर भएका ४८ वर्षीय फूल महमद रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई वीरगन्जको मकालु होटल चोक नजिकबाट पक्राउ गरिएको हो। प्रारम्भिक जाँचका क्रममा उनीहरूको साथबाट बरामद गरिएको नगद रकमको वैधानिक स्रोत खुल्न नसकेपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद रकम हुन्डी कारोबार, अवैध लेनदेन वा अन्य आपराधिक गतिविधिसँग सम्बन्धित हुन सक्ने आशंकामा विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।




















