विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची बुझाइसकेका छन् । यसपटक कोशी प्रदेशका १४ वटै जिल्लाबाट विभिन्न दलका उल्लेखनीय संख्यामा नेताहरू बन्द सूचीमा समेटिएको छ।

२०७९ सालको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस, दोस्रो नेकपा एमाले, तेस्रो नेपाली कम्युनिष्ट पार्टी (एकीकृत रूप) र चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कोशी प्रदेशका धेरै नेताको नाम समानुपातिक बन्द सूचीमा परेको छ ।

नेपाली कांग्रेस

नेपाली कांग्रेसले कोशी प्रदेशबाट कुल १८ जनालाई समानुपातिक बन्द सूचीमा समेटेको छ ।

आदिवासी जनजाति क्लस्टरबाट पार्टी सहमहामन्त्री भीष्मराज आङदेम्बे (पाँचथर), गोपालमानसिंह राजभण्डारी (मोरङ), थलकुमार लिंखा (तेह्रथुम) र विजय सम्वाहाम्फे (संखुवासभा) सूचीमा छन् ।

महिलातर्फ गीता गुरुङ (तेह्रथुम), गीताकुमारी सेन्दाङ (सोलुखुम्बु), सविता राई (ताप्लेजुङ), प्रेमिका रानामगर (ओखलढुंगा) र निर्मला गुरुङ (इलाम) परेका छन् ।

खसआर्य क्लस्टरबाट सुशीला ढकाल आचार्य, रुक्मणी कोइराला (मोरङ), गोमाकुमारी भट्टराई (झापा) र रिना उप्रेती (सोलुखुम्बु) सूचीमा छ।

थारू क्लस्टरबाट डा. प्रमिला गच्छदार (मोरङ) तथा दलिततर्फ मनुमाया विश्वकर्मा (झापा) र चन्द्रेश्वर शर्मा खत्वे (सुनसरी) परेको छ।

मुस्लिम क्लस्टरबाट नगमा शाहिद अन्सारी र जमिल अख्तर मियाँ (सुनसरी) कांग्रेसको बन्द सूचीमा समेटिएका छन् ।

नेकपा एमाले

नेकपा एमालेको समानुपातिक बन्द सूचीमा पनि कोशी प्रदेशका नेताहरूको उल्लेखनीय उपस्थिति छ । जेन–जी पुस्ताकी झापाकी नीता घतानी कोशीबाट सूचीमा पर्ने एकमात्र नयाँ अनुहार बनेकी हुन् ।

मोरङबाट पूर्व उपाध्यक्ष गुरु बराल र जिसस पूर्व प्रमुख नरेश पोखरेल, उदयपुरकी पूर्व मन्त्री मञ्जु चौधरी, भोजपुरका पर्शुराम अधिकारी, झापाकी निर्मला पाठक, मेनुका काफ्ले, अनिता कन्दङ्वा, तेह्रथुमकी विष्णुमाया विक र धनकुटाकी मनकुमारी तितुङ लगायत बन्द सूचीमा हुन् ।

नेकपा (एकीकृत)

नेपाली कम्युनिष्ट पार्टी (एकीकृत) ले कोशी प्रदेशबाट १३ जनाको नाम समानुपातिक बन्द सूचीमा समावेश गरेको छ ।

खसआर्य महिलातर्फ करूणा बस्नेत (सोलुखुम्बु) र सावित्री पोखरेल (सुनसरी) तथा खसआर्य पुरुषतर्फ विनोद कटुवाल र राजमणि पोखरेल (उदयपुर) परेको हो।

आदिवासी जनजाति महिलातर्फ ममता राजवंशी (मोरङ), सुनिता बूढामगर र निर्मला श्रेष्ठ (ओखलढुंगा), कल्पना लिम्बू (सुनसरी) तथा पुरुषतर्फ भरतकुमार श्रेष्ठ र दंगध्वज खोयाहाङ (ताप्लेजुङ), कृष्णकुमार राई (भोजपुर) र पासाङ शेर्पा (सोलुखुम्बु) सूचीमा छन् ।

मधेसी पुरुषतर्फ अभिमन्यू यादव (मोरङ) परेका छन् । पार्टीले यसपटक सबै नयाँ अनुहारलाई प्राथमिकता दिएको जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी

रास्वपाले सार्वजनिक गरेको बन्द सूचीमा पनि कोशी प्रदेशसँग सम्बन्धित उम्मेदवारहरूको संख्या उल्लेख्य छ ।

मोरङबाट डा. राम लामा, मिडमा ग्याबु शेर्पा, ज्ञानेन्द्र मल्ल, डा. महेन्द्र लावती, मनकाजी श्रेष्ठ, आयुष मानन्धर, गंगा छन्त्याल, अनुष्का श्रेष्ठ, त्रिसाला गुरुङ, रजनी श्रेष्ठ, डा. ओजश्वी शेरचन, मीरा महर्जन, तुलसा वाइवा, रञ्जु दर्शना र सुरेन्द्र चौधरी परेका हुन् ।

सुनसरी, ताप्लेजुङ, सोलुखुम्बु, ओखलढुंगा, पाँचथर, इलाम, झापा, खोटाङ र भोजपुरबाट पनि विभिन्न पेशा र पृष्ठभूमिका उम्मेदवारहरू बन्द सूचीमा समेटिएको छ।

मुख्य चार दलको समानुपातिक बन्द सूचीले यसपटक कोशी प्रदेशको प्रतिनिधित्वलाई उल्लेखनीय बनाएको छ ।