विराटनगर। गुरुङ समुदायले पुरानो वर्षलाई विदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व मनाएका छन् । ‘ल्हो’ले वर्ष र ‘सार’ले फेरिनुलाई जनाउने भएकाले वर्ष परिवर्तनको दिनलाई तमु ल्होसार भनिने गरिएको हो । गुरुङ समुदायका लागि यो पर्व नयाँ वर्षको आरम्भका रूपमा विशेष महत्व राख्ने गर्छन् ।
तमु ल्होसार सूर्यको गति र तापसँग सम्बन्धित पर्वका रूपमा लिइन्छ । गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतलगायत जिल्लामा सूर्यको ताप चाँडो पुग्ने विश्वासका कारण पुस महिनामा यो पर्व मनाइने परम्परा रहेको छ । यसै आधारमा तामाङ समुदायले माघमा र शेर्पा समुदायले फागुनमा ल्होसार मनाउने चलन रहेको जानकारहरूले बताएका छन् ।
पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि क्रमशः रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारको सांस्कृतिक तथा प्राकृतिक महत्व जोडिएको छ ।




















