श्रीमान र छोरीसँग घुम्न निस्केकी थिइन् अर्पिता। एक पछिको अर्को दु:खद घटनाले गहिरो चोटमा थिइन् उनी। मौसम परिवर्तन र नवीन स्थानहरूको परिदृश्यले मनमा उठेका दुःख र वेदनाहरू शान्त हुनसक्ने मान्यता थियो अर्पितामा ।
विभिन्न दर्शनीय स्थानहरूको दृश्यावलोकन गर्दै अति प्राचीन र मान्यताप्राप्त प्रसिद्ध मन्दिरमा पुगे उनीहरू । मन्दिरको दर्शनपछि बाहिरपट्टिको ढुङ्गाको फलैंचामा बसेकी थिइन् उनी, एउटी अपरिचित दक्षिण भारतीय सुन्दर युवती मुस्कुराउँदै आएर अर्पितालाई रातो सानो फूलको गुच्छा दिँदै अङ्ग्रेजीमा भनिन्, "This is for you aunty."
फूल समाउँ कि के गरूँ ! अर्पिता असमञ्जसमा परिन् । फूल सबैको लागि ! युवतीको हँसिलो मुहार देखेर अर्पिताले फूलको गुच्छा समाउँदै अङ्ग्रेजी मै जवाफ दिइन्," Beautiful! Where are you from?"
उनले मुस्कुराउँदै भनिन् "This is my home town aunty."। यो दृश्य परबाट अर्पिताका श्रीमानले हेरिरहेका थिए, मुसुक्क मुस्कुराउँदै आएर आफ्नो मोबाइलबाट फोटो खिचिदिए।
तुरन्तै त्यस्तै उन्नाइस/बीसका युवक हाँस्दै आए, अर्पिताले इशारा बुझिन्, दुबैको अनुहारमा लाली थियो, दुवै हिँड़े ।
छोरीले भनिन्, "नचिनेकी केटीसँग किन फोटो खिच्नुभयो आमा ?"
" फोटो नै खिच्दा के हुन्छ र ! आखिर कहाँकी थिइन्, अपरिचित थिइन्, फेरि भेट होला कि नहोला ? केटासँग भए पो कसै-कसैलाई आपत्ति हुनसक्ला ?" अर्पिताले आफ्ना श्रीमानतिर हेर्दै व्यङ्ग्य कसिन् ।
"फूल किन दिइन् उनले तपाईँलाई ! छोरीको प्रश्न थियो आमालाई ?"
"खै किन दिइन् थाहा भएन ? बम भए पो डराउनु नानी! फूल त हो, के भयो र !"अर्पिताले भनिन् । फूल भनेपछि हुरुक्क हुने अर्पिता, छोरीलाई राम्रो थाहा छ अरू प्रश्न गरिनन् ।
अर्पिताले आफ्नो हातमा भएको फूललाई हेरेर मनमनै कल्पना गरिन्, " यो फूल युवकले मन्दिरमा चढ़ाएर भगवानको समक्ष माफी माङ्दै दुवैको प्रेम सफलहोस् भन्ने मनोकामना राखेर युवतीलाई दिएको हुनसक्छ, उनीहरूको प्रेमको प्रतीक फूल युवतीले स्वीकारिन् तर उक्त फूल घर लान पनि नसकेर हुनसक्छ, आमा-बाबालाई उनीहरूको प्रेम प्रसङ्ग भन्न सकिरहेका छैनन् होला, अनि यो मायाको चिनो यो असमञ्जसमा परेर यो फूल मलाई दिएको हुनसक्छ! अर्पिताका मनमा धेरैवटा जिज्ञासाका चिह्नहरू ??? देखा परे तापनि उनीहरूको प्रेम अनन्त रहोस्, सफल रहोस् , उनीहरूको प्रेम अमर रहोस् ! अर्पिताले भगवानसित कामना राखीन। उनको मनभित्र कतै चस्स घोचेको अनुभव गरिन! तर उही प्रश्नले उनलाई छाड़ेको थिएन!
"आखिर किन दिइन उनले मलाई यो फूल ??" के उनी गलत नियतले मेरो सामु आएकी त थिइन्न ? उनको हात आफ्नै घाँटीको मङ्गलशुत्रमा पुगेर टक्क अड्यो!
गीताश्री शर्मा
भारत




















