विराटनगर।मोरङको बूढीगङ्गा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय परिसर बाहिर छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा चार जना विद्यार्थीलाई निलम्बन गर्ने निर्णयपछि विश्वविद्यालयमा तनाव उत्पन्न भएको छ । निलम्बनको विरोधमा उत्रिएका विद्यार्थीहरूले शुक्रबार बिहानदेखि प्रदर्शन गर्दै कलेजको मुख्य गेटमा तालालगाएका छन् ।
विश्वविद्यालय प्रशासनले प्रारम्भिक छानबिनका आधारमा अनुशासन उल्लंघन भएको ठहर गर्दै चार विद्यार्थीलाई निलम्बन गरेको जानकारी दिए । प्रशासनका अनुसार घटनाको निष्पक्ष अनुसन्धानलाई सहज बनाउन अस्थायी रूपमा निलम्बन गरिएको हो र छानबिन समितिको प्रतिवेदन आएपछि थप निर्णय गरिनेभएको हो । विद्यार्थी पक्षले प्रशासनको निर्णय एकपक्षीय र हतारोमा गरिएको दाबी गर्दै विरोध गरेका थिए। प्रदर्शनकारी विद्यार्थीहरूले छानबिन प्रक्रिया पारदर्शी हुनुपर्ने, दोष प्रमाणित नभएसम्म निलम्बन फिर्ता लिनुपर्ने दाबी गरेका छन्। उनीहरूले मुख्य गेटमा ताला लगाउँदा शैक्षिक गतिविधि प्रभावित भएको छ। प्रशासनले कानुन र संस्थागत आचारसंहिताअनुसार अघि बढ्ने स्पष्ट पार्दै आन्दोलनका कारण उत्पन्न असहज अवस्थाबारे सरोकारवाला निकायसँग समन्वय भइरहेको जानकारी दिए।
स्थानीय तह र अभिभावक पक्षले दुवै पक्ष संयमित भई संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन् ।




















