विराटनगर । विराट साहित्य सङ्गम कार्यसमितिको २०८२/०९/१० गते बसेको बैठकले आगामी पुस २६ गते तीनजना स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको छ।

बैठकको निर्णयअनुसार गोविन्द बी. चापागाईं र कविता चापागाईंद्वारा स्थापना गरिएको यमुनादेवी–बैजनाथ भट्टराई स्मृति विराट साहित्य सङ्गम पुरस्कार नुवाकोटका साहित्यकार दिनेश पाण्डेलाई प्रदान गरिने भएको छ।

त्यसैगरी रामबाबु दाहालले आफ्नी आमाको स्मृतिमा स्थापना गरेको राधादेवी दाहाल स्मृति विराट साहित्य सङ्गम पुरस्कार सङ्गीत साधक तथा स्वर सङ्गम सङ्गीतालयकी प्रशिक्षक महिमा शर्मा पाण्डेलाई प्रदान गरिने निर्णय गरिएको छ।

यस्तै, विराट साहित्य सङ्गम प्रतिभा पुरस्कार साहित्यकार भूपाल अधिकारीलाई प्रदान गरिने भएको छ।

विराट साहित्य सङ्गमले साहित्य, कला तथा सङ्गीत क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले नियमित रूपमा यस्ता सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको जनाएको छ।