विराटनगर । २०८२/०९/१० गते बेलबारी नगरपालिकाका प्रथम जाति धिमाल समुदायका लेखक टीकालाल धिमालद्वारा लिखित धिमाल भाषाका नाटकहरू ‘नाङघाका जीवन’ र ‘कापाल्ता मान्थु’ तथा ती नाटकका नेपाली अनुवाद ‘ब्युँझिएको जीवन’ र ‘सङ्कल्प’ गरी चार नाटक समेटिएको नाटकसङ्ग्रह ‘फाइसालाम्का गेसा’ (नेपाली : उज्यालो कुपी) लोकार्पण गरिएको छ।
कृतिको लोकार्पण प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई तथा वरिष्ठ साहित्यकार एवं पूर्व सांसद हर्कमान तामाङलगायतले गरे। कार्यक्रममा नगर प्रमुख राईले अल्पसङ्ख्यक समुदायले आफ्नो मातृभाषामा साहित्य सिर्जना र कृति प्रकाशन गर्नु नाफा–घाटाको विषय नभई भाषा र संस्कृतिलाई अन्य विकसित भाषा–संस्कृतिसँग सँगसँगै अगाडि बढाउन सकियो कि सकिएन भन्ने कुरा मुख्य रहेको धारणा व्यक्त गरे।
विशिष्ट अतिथि तामाङले टीकालाल धिमालले आफ्नो समुदायका लागि मात्र नभई सम्पूर्ण नेपाली जातिहरूका लागि योगदान पुर्याएको उल्लेख गर्दै सबैले नेपाली भाषा–संस्कृतिको जगेर्नामा लाग्नुपर्ने आवश्यकता औंल्याए।
समीक्षक साहित्यकार ईरानराईले भाषिक तथा सांस्कृतिक अतिक्रमण भइरहेको वर्तमान अवस्थामा नाटकसङ्ग्रहले आफ्नै संस्कृति र परम्पराभित्रका अनुपयुक्त पक्ष हटाउँदै असल पक्षलाई अझ विकसित रूपमा निरन्तरता दिनुपर्ने बताए। समीक्षक साहित्यकार केशु विरहीले यस नाटकसङ्ग्रहले धिमाल तथा नेपाली भाषाको नाट्यक्षेत्रलाई अगाडि बढाउने विश्वास व्यक्त गरे।
धिमाल जाति विकास केन्द्रका केन्द्रीय सल्लाहकार कृष्णबहादुर धिमालले बेलबारी क्षेत्रको धिमाल भाषा पूर्वका अन्य क्षेत्रभन्दा बढी मौलिक रहेको जानकारी दिए। बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले मातृभाषाको संरक्षण र साहित्यिक विकासका लागि प्रतिष्ठान सदैव तयार रहेको बताइन।
कार्यक्रममा वडाध्यक्ष योगेन्द्र सुवेदी, समाजसेवी प्रतापकुमार थापा, छत्र लिम्बू, केदार धिमाल, रुक्मिणी धिमाल, फणीन्द्रप्रसाद निरौला तथा साहित्यकार दीप मङ्ग्राती, पुरन याखा, जे.बी. थुलुङ, कृष्ण गुरुङ, प्रेम गुरुङ, तीर्थराज सिग्देल र अजित धिमाललगायतको उपस्थिति रहेको थियो।
धिमाल जाति विकास केन्द्र बेलबारी नगर अध्यक्ष शिवनाथ धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले सञ्चालन गरेका थिए ,भने कोषाध्यक्ष शिव पराजुलीले स्वागत मन्तव्य राखे। कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ बेलबारीको सभाकक्षमा सम्पन्न भएको थियो।




















