विराटनग।काठमाडौं ,क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मको स्मृतिमा आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदैछ । क्रिश्चियन समुदायले यस दिनलाई विशेष धार्मिक तथा सांस्कृतिक महत्वका साथ उत्सवका रूपमा मनाउने गर्छन् ।
धार्मिक विश्वासअनुसार करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ का दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशुले मानवजातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिएको विश्वास छ ।
नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानव समाजलाई तीन महत्वपूर्ण उपहार—मुक्ति, प्रेम र शान्ति—दिएका कारण क्रिसमस डे लाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउने परम्परा छ । “मानवलाई प्रेम गर्न, शान्ति स्थापना गर्न र मुक्ति दिन येशु ख्रीष्टको आगमन भएको विश्वासका साथ आजको दिन मनाइन्छ,उनले भने।
नेपालमा औपचारिक रूपमा क्रिसमस महोत्सव विसं २०६३ पछि महासंघको अगुवाइमा सुरु भएको थियो। यसै अवसरमा महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिने जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, विभिन्न निकायका अधिकारी, मानव अधिकारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
क्रिसमस डे का अवसरमा नेपाल सरकारले विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिएको थियो । विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि पुनः सबैका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ ।




















