विराटनगर । दलित महिला संघ मोरङको आयोजनामा दलितहरुको सामाजिक, आर्थिक तथा जनसाङ्ख्यिक अवस्थाका बारेमा राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा आधारित भई राष्ट्रिय तथ्याङ्क कार्यालय र दलित महिला संघको सहकार्यमा तयार गरिएको दलितसम्बन्धी तथ्याङ्कीय प्रतिवेदनमाथि प्रदेशस्तरीय एक अन्तरसम्वाद कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । विराटनगरस्थित होटल रुबिजमा आयोजित कार्यक्रममा दलित समुदायका समाजिक तथा आर्थिक सवाल, नीति निर्माणमा सहभागिता तथा सामाजिक विकासका अवसरबारे गहन छलफल गरिएको थियो। कार्यक्रमको अध्यक्षता दलित महिला संघ मोरङकी अध्यक्ष शर्मिला परियारले गरेकी थिइन् । प्रमुख अतिथिका रुपमा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय श्री पाँचकर्ण राई रहेका थिए । कार्यक्रममा उनले दलित समुदायको सामाजिक, आर्थिक र शैक्षिक उत्थानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड दिए। साथै उनले प्रदेश सरकारका तर्फबाट दलित सशक्तीकरण विधेयक यथाशक्य प्रदेश सभामा पेस गरिने प्रतिबद्धता व्यक्त गरे । सामाजिक विकास समितिका सभापति माननीय गयानन्द मण्डल गंगाई, माननीय गीता देवी रेग्मी, माननीय विद्या चाम्लिङ राई, माननीय शोभा चेम्जोङ, माननीय सपना दर्जी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा संविधानसभा सदस्य माननीय खेम नेपाली, प्रदेश योजना आयोगका उपाध्यक्ष श्री तारानाथ निरौला तथा FEDO केन्द्रका महासचिव श्री रेणु सिजापतिको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक द्वय श्री विनोदशरण आचार्य र राजन सिलवालले दलित जनसङ्ख्याको व्यक्तिगत तथा पारिवारिक अवस्थासम्बन्धी दुईओटा बेग्लाबेग्लै प्रस्तुति गरे।
वक्ताहरूले दलित अधिकार सुनिश्चितता, नीति–कार्यक्रममा समावेशी दृष्टिकोण, र स्थानीय तहदेखि प्रदेशसम्म सहकार्यको आवश्यकता औंल्याए। कार्यक्रमका सहभागीहरुले दलित विषयको यस्तो प्रतिवेदन जनगणनाको ११० वर्षको इतिहासमा पहिलोपटक तयार भएको हुँदा राष्ट्रिय तथ्याङ्क कार्यालय र दलित महिला संघलाई धन्यवाद व्यक्त गरेका थिए ।























