विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश कमिटीले वर्तमान सरकारका निर्णय र गतिविधिलाई असंवैधानिक तथा प्रतिगमनकारी ठहर गर्दै सशक्त आन्दोलनमा उत्रने घोषणा गरेको छ ।
नेकपा एमाले नवनिर्वाचित सचिव तथा कोशी इन्चार्ज शेरधन राईले सरकारले निर्वाचनको रटान लगाएर प्रतिशोध साँधे प्रतिवादमा उत्रन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले एमालेले गर्ने कार्यक्रम शान्तिपूर्ण हुने बताए ।
उनले भने, ‘सरकार प्रतिशोध साँध्न उद्यत देखिएको छ यसो भए आजैदेखि सम्भावित प्रतिगमनकारी हर्कत र षडयन्त्र विरुद्ध, लोकतन्त्र र संविधानको रक्षा गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै एमालेले प्रदर्शन गर्छ ।
सचिव राईले अहिले बनेको छानबिन आयोगले छानबिन गर्न सक्ने हैसियत नराख्ने बताउँदै उनले भने, यो छानबिन समितिले पार्टी अध्यक्षलाई बयानमा बोलाएर प्रतिशोध साँध्ने तयारी गर्दैछ, सहेर एमाले बस्दैन ।
प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले सरकारका कदमहरू स्वीकार्य नरहेको भन्दै आन्दोलन अपरिहार्य भएको बताए । असंवैधानिक सरकारले गरेका निर्णय र कार्यहरू हामी मान्दैनौँ,उनले स्पष्ट पार्दै खतिवडाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले राजनीतिक प्रतिशोधको उद्देश्य राखेको आरोप लगाइएको छ । त्यसविरुद्ध कोसी प्रदेशका १४ वटै जिल्लामा चरणबद्ध प्रदर्शन गरिने जानकारी दिए ।
विज्ञप्तिमा हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशन (२०८२ मंसिर २७–२९) बाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएपछि पार्टीप्रति जनसमर्थन बढेको र त्यसबाट सरकार भयभीत भएको दाबी गर्दै देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कथित छानबिन आयोगका नाममा अनावश्यक दुःख दिन खोजिँदैछ विज्ञप्तिमा उल्लेख छ ।
एमालेले २०८२ भदौ २३ र २४ का घटनासँग जोड्दै जननिर्वाचित सरकार अपदस्त गरी असंवैधानिक सरकार गठन गरिएको आरोप लगाएको छ । यसले लोकतन्त्र र संविधानमाथि गम्भीर प्रहार भएको भन्दै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार गठन, संविधान संशोधन र ताजा जनादेशको माग दोहोर्याइएको छ ।
एमालेले यो आन्दोलन पार्टीगत मात्र नभई लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताउँदै अन्य राजनीतिक दल, बौद्धिक वर्ग, मानवअधिकारकर्मी, नागरिक समाज, उद्योगी–व्यवसायी तथा युवा–विद्यार्थीलाई ऐक्यबद्धता जनाउन अपिल गरेको छ ।




















