विराटनगर ।काठमाडौं ,अनुमति नलिई माइतीघरअगाडि प्रदर्शनमा उत्रिएको भन्दै प्रहरीले जेनजी अभियानका २० भन्दा बढी सहभागीलाई नियन्त्रणमा लिएको छ। सोमबार भएको प्रदर्शनका क्रममा अगुवाहरूलाई गाडीमा राखेर प्रहरीले स्थानान्तरण गरेको छ।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुमति नलिइ प्रदर्शन गरिएको पाइएकाले भीड व्यवस्थापन र शान्ति सुरक्षाका लागि हस्तक्षेप गर्नुपरेको बताएका छन् । यसअघि पनि केही सहभागीलाई नियन्त्रणमा लिइएर तत्कालै छाडिएको थियो। तर पुनः प्रदर्शन उग्र बन्दै गएपछि यसपटक समूहगत रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए।
नियन्त्रणमा पर्नेमा मिराज ढुंगाना, रविकिरण हमाल, अजय सोडारीलगायत छन्। यसअघि मिराज ढुंगाना र डा. निकोलस भुसालसहितका केहीलाई प्रहरीले गाडीमा लैजान खोज्दा उनीहरूले अस्वीकार गरेका थिए। त्यसक्रममा उपस्थित भीडले नाराबाजी गरेपछि उनीहरूलाई तत्कालै छाडिएको थियो। तर सोही दिन फेरि उनीहरूलाई नियन्त्रणमा लिइएको छ।
‘जेनजी’ अभियानले सर्वपक्षीय सरकार गठनलगायतका माग अघि सार्दै आन्दोलन घोषणा गरेको थियो। अनुमति बिना सार्वजनिक स्थलमा प्रदर्शन भएपछि स्थिति नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाइ छ।




















