विराटनगर । विराटनगरका दुई क्यासिनोमा मोरङ प्रहरीले आइतबार राती छापा हानेर २० जनालाई पक्राउ गरेको छ । होटल बिगको च्याम्पियन र होटल रत्नामा सञ्चालित क्यासिनोमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये प्रहरीले १७ जनालाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

क्यासिनोबाट पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका पूर्व डाइरेक्टर तेजराज गिरी सहित पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम रहेका छन् । त्यस बाहेक रोशन गिरी, अनिस राज लामा, आदेश बिक, घनश्याम शर्मा, सन्तोष बस्नेत, मो. जाकिर हुसैन, विवके कुमार मण्डल, कृष्ण कुर्मी, रुपेश दाहाल, सुरज राय, प्रमोद घिमिरे, पवन गोस्वामी, साजन साह, हरि भट्टराई र सुरेन्द्र बहादुर चन्द रहेका छन् । हरि भट्टराई होटल बिगका सञ्चालक समेत रहेका छन् ।

पक्राउ परेका मध्ये १७ जनामाथि जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ । ३ जना क्यासिनो कर्मचारीलाई थप अनुसन्धानपछि प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।