विराटनगर । विराटनगर क्षेत्रमा बाक्लो हुस्सु बढेपछि हवाई उडान प्रभावित भएका छन्। विराटनगरबाट काठमाडौँ जाने यति एयरलाइन्स र बुद्ध एयरलाइन्सका उडानहरू निर्धारित समयमै सञ्चालन हुन नसक्दा यात्रुहरू समस्यामा परेका छन्।
बिहान ७:३०बजे उड्ने भनिएका दुवै एयरलाइन्सका विमानहरू मौसम प्रतिकूलताका कारण बिहान १० बजेसम्म पनि उडान गर्न नसकेको यात्रुले जनाइएको छ। हुस्सुका कारण भिजिबिलिटी कम भएपछि उडान अवरुद्ध भएको जनाए।
टाढा–टाढाबाट विराटनगर विमानस्थल आएका यात्रुहरू लामो समयदेखि विमानस्थलमै पर्खिनु पर्दा सास्ती भोग्नुपरेको बताएका छन्। कतिपय यात्रुले महत्त्वपूर्ण कामका लागि काठमाडौँ जानुपर्ने भए पनि उडान ढिलाइले समस्या उत्पन्न भएको गुनासो गरेका छन्।
मौसममा सुधार आएपछि उडान पुनः सञ्चालन गरिने विमानस्थल प्रशासनले जनाएको छ।




















