विराटनगर।मोरङको बेलबारी र सुन्दरहरैचा क्षेत्रमा दैनिक रूपमा जंगली हात्तीको आतंक बढ्दै गएको छ। पछिल्ला केही दिनयता जंगली हात्तीले स्थानीयवासीको घर भत्काउनुका साथै किसानले लगाएको बालीनाली नष्ट गर्दै बस्ती पस्दा जनजीवन प्रभावित बनेको छ।
बिहीबार राति मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित पचहत्तर बिगेमा जंगली हात्तीले मैया पराजुलीको घर भत्काएको छ। यसअघि बुधबार राति सोही वडाको बेलगाछी उत्तरपट्टि सन्तोष खतिवडाको घरमा हात्तीको बथान प्रवेश गरी केरा बगान, अन्नपात तथा घरमा समेत क्षति पुर्याएको छ।
यता, मोरङको बेलबारी नगरपालिका–३ खानेपानी टोलमा पनि बुधबार राति जंगली हात्तीले एक स्थानीयको भान्सा घर भत्काएको छ। दुईवटा जंगली हात्तीले स्थानीय मिलन राईको घरमा आक्रमण गरी भान्सा घर पूर्ण रूपमा भत्काउनुका साथै भान्सा घरभित्र बोरामा भण्डारण गरेर राखिएको धान खाएर नष्ट गरिदिएको राईले बताएका छन्।
जस अनुसार जंगली हात्तीको आतंकका कारण रातिको समयमा बास बस्न र खेतबारी जोगाउन ठूलो समस्या भएको स्थानीय बताउँ छन्।
स्थानीयवासीले जंगली हात्तीको नियन्त्रण गर्नकालागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन माग गरेका छन्।




















