विराटनगर। नेपालमै जन्मेर हुर्केका दुई हात्ती रूद्रकली र खगेन्द्रप्रसादलाई बुधबार राति कतार एयरवेजको चार्टर जहाजमार्फत कतारको दोहा पठाइएको छ। नेपालले इतिहासमै पहिलो पटक अन्य देशलाई हात्ती उपहारस्वरूप पठाएको हो।

चितवन राष्ट्रिय निकुञ्जका प्राविधिकका अनुसार हात्तीलाई जहाजमा चढाउनुअघि अर्धबेहोसी बनाउने औषधि प्रयोग गरिएको थियो। हात्तीको अत्यधिक तौल र उडानका क्रममा चलमल हुँदा जहाजको सन्तुलन बिग्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो औषधि प्रयोग गरिएको प्राविधिकहरूले बताएका छन्।

औषधिको असरले दुवै हात्ती अर्धबेहोसी अवस्थामा थिए।  उडान अवधिभर हात्तीलाई शान्त राख्न र सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन यस प्रकारको औषधि आवश्यक हुने प्राविधिकहरूको भनाइ छ।

नेपाल र कतारबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित हात्ती उपहार पठाइएको बताइएको छ।