विराटनगर।काठमाडौं ,नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि बन्दसत्र सुरु हुँदैछ । शनिबार भक्तपुरको सल्लाघारीमा औपचारिक उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको छ । बन्दसत्र आज मध्याह्न सवा १२ बजेपछि सुरु हुने पार्टी प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
बन्दसत्र सुरु हुनुअघि आज बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम रहेकोे छ।एमालेले महाधिवेशन आगामी सोमबारसम्म सम्पन्न गर्ने नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ।
यसपटक अध्यक्ष पदका लागि हालका अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दाबी प्रस्तुत गरेका छन् । सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने, सहमति नजुटेमा मतदान प्रक्रियाबाट टुंग्याउने तयारी एमालेको छ । मतदान भए विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने पार्टीले जनाएको छ ।
बन्दसत्रमा सहभागी २ हजार २६२ जना प्रतिनिधिहरूले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । महाधिवेशनको बन्दसत्र सुरु भएसँगै भृकुटीमण्डपमा प्रतिनिधिहरूको उपस्थिति बढ्दो क्रममा रहेको छ ।




















