“हत्केलाले सूर्यलाई छेक्न नखोज
एमालेलाई अरूसँग जोख्न नखोज…”
विराटनगर ।काठमाडौ ,२०७४ सालको निर्वाचन अभियानमा गाउँ–गाउँ, चोक–चोकमा घन्किएको यही गीतले शनिबार फेरि एकपटक भक्तपुरको सल्लाधारी खेल मैदानलाई तरंगित बनायो। नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रमा बजेको यो गीतले हजारौँ प्रतिनिधि, कार्यकर्ता र समर्थकलाई शनिवार एकै लयमा बाँध्यो—गीत, ताली र नृत्यमा।
मजदुर वर्गका नेता भीमज्वाला राईको रचनामा तयार भएको उक्त गीत सञ्जय तुम्रोक र रूपा चौधरीको स्वरमा गुञ्जिँदा मैदान उत्सवस्थलमा परिणत भयो। देशभरबाट महाधिवेशनमा सहभागी प्रतिनिधिहरू गीतसँगै नाच्दै, गुनगुनाउँदै राजनीतिक उत्साह प्रकट गरिरहेका देखिन्थे।
रेकर्ड गरिएको ट्र्याकमा गीत बजिरहँदा माहोल उत्कर्षमा पुगेको बेला गायक सञ्जय तुम्रोक र गायिका रूपा चौधरी स्वयं मञ्चमा उभिएर लाइभ प्रस्तुति दिनु भयाे । दर्शकदीर्घाबाट उठेको ताली, नृत्य र हुटिङले मैदान केही समयका लागि सांस्कृतिक महोत्सव जस्तै देखियो। गीतले केवल मनोरञ्जन मात्र होइन, पार्टीप्रतिको भावनात्मक एकता पनि झल्काइरहेको थियो।
निर्वाचनदेखि महाधिवेशनसम्मको यात्रा
२०७४ र २०७९ सालका आम निर्वाचनमा अत्यन्त लोकप्रिय बनेको यो गीत आज पनि एमालेका हरेक अभियान, कार्यक्रम र भेलामा उत्तिकै प्रभावशाली सावित भइरहेको छ। मजदुर, किसान, युवा र ‘जेन जी’ पुस्तासम्म यसले आफ्नो स्थान बनाएको अर्का मजदुर नेता लक्ष्मी बाँनिया बताउँ छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, धरान उपमहानगरका अध्यक्ष किरण थापाका अनुसार,
“त्यतिबेला मजदुर सर्वहारा वर्गका नेता भीम ज्वालाले लेखेको गीत आज पार्टीको ११औँ महाधिवेशनको उद्घाटन सत्रमै आकर्षणको केन्द्र बन्नु खुशीको कुरा हो। यसले पार्टीको इतिहास, संघर्ष र भविष्यलाई जोड्ने काम गरेको छ।”
संगीत, सन्देश र पुस्तान्तरण
गीतको संगीत अशोक राईले दिएका हुन्। आधुनिक लोक भाकामा तयार गरिएको यो रचना सरल शब्द, स्पष्ट सन्देश र लयात्मक प्रस्तुतिका कारण युवा पुस्तामाझ विशेष लोकप्रिय बनेको छ। सूर्य चिन्ह र नेकपा एमालेको पहिचानलाई सांगीतिक माध्यमबाट स्थापित गर्न यसले ठूलो भूमिका खेलेको छ।
महाधिवेशनजस्तो गम्भीर राजनीतिक कार्यक्रममा यसरी गीत–संगीतले माहोल तताउँदा, राजनीति केवल भाषण र प्रस्तावमा सीमित छैन भन्ने सन्देश पनि दिएको छ। विचार, संगठन र संस्कृतिको संगमका रूपमा गीतले एमालेको महाधिवेशनलाई थप जीवन्त र स्मरणीय बनाएको सहभागीहरूको प्रतिक्रिया रहेकाे छ ।
सल्लाधारी मैदानमा घन्किएको त्यो गीत केवल एउटा सांगीतिक प्रस्तुति थिएन—यो पार्टीको विगत, वर्तमान र भावी यात्रालाई जोड्ने सांस्कृतिक दस्तावेजका रूपमा प्रस्तुत भयो।




















