विराटनगर। साहित्यकार शम्भुप्रसाद भट्टराईको अहम्–तुष्टि : चेतना अदृश्य सत्ता निबन्धात्मक आत्मचिन्तन पुस्तक विमोचन भएको छ ।
विराट साहित्य संगमले आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रमका अग्रज साहित्यकार बलराम पोखरेल, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, साहित्यकार खेम नेपाली, प्राध्यापक कृष्ण वस्ती, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, साहित्यकार डा. देवी पन्थीलगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार कविता केसरीले स्वागत मन्तव्य व्यक्त गरेकि थिइन्। कार्यक्रममा लेखक र संस्थाका बारेमा मुक्तककार बाबुराम पोखरेलले भट्टराईको परिचय गराएका थिए ।
विमोचित पुस्तकमाथि साहित्यकार जीवन कास्यप र नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेलले समीक्षा गरे । भट्टराईले आफ्नो जन्मोत्सवको अवसर पारेर पुस्तक विमोचन गरेका छन् । सो अवसरमा उषा खनालले लेखकको जन्मदिनको शुभकामनासहित कविता वाचन गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अग्रज साहित्यकार बलराम पोखरेल, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, साहित्यकार खेम नेपाली, आयोजक संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक कृष्ण वस्ती, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, साहित्यकार डा. देवी पन्थीले शुभकामना व्यक्त गरेका थिए।संचालन कवि गोपाल निर्भीकको रहेको थियो।




















