विराटनगर ।नेपाली कम्युनिष्ट  पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड विराटनगरमा आयोजना गरेको एकता सन्देश सभामा बोल्दै चुनावी तयारी केन्द्रमा भैरहेको स्पष्ट पारेका छन् ।

सह–संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल र राजेन्द्र श्रेष्ठ तथा गोपाल किराँतीले पार्टी एकताको अपरिहार्यता, सशक्त वैकल्पिक शक्ति बन्दै विराटनगरबाट नयाँ राजनीतिक अभियान सुरु भएको घोषणा गरे ।

नेताहरूले पार्टी एकतादेखि पहिचान, समाजवाद, युवा पिढीको विद्रोह, राष्ट्रियता र आगामी चुनावको तयारीसम्मका विषयलाई एकै थलोमा समेट्ने प्रयास गरेका थिए । पार्टीका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई कुनै हालतमा ढिलाइ हुन नदिने चेतावनी दिए ।

प्रचण्डले अन्तरिम सरकारलाई तोकिएकै मिति फागुन २१ गते निर्वाचन गराउने दायित्वबाट नभाग्न चेतावनी दिए । ‘सरकार गठनमा हाम्रो भूमिका छ, तर त्यसको नाममा दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्नू,’ उनले भने, ‘यो सरकारलाई प्रशासनिक कार्य गर्ने र निर्वाचन गर्नेबाहेकको काम गर्ने अधिकार छैन ।’

त्यस्तै सहसंयोजक माधवकुमार नेपालले नयाँ पुस्ता जेनजीको आकर्षण आफ्नो पार्टीतिर बढेको दाबी गरे । काठमाडौंदेखि विभिन्न जिल्लासम्म जेनजी योद्धा प्रवेश गरिरहेको उल्लेख गर्दै उनले पार्टीलाई युवा, महिला, दलित, आदिवासी–जनजातिको ‘साझा घर’को परिचय दिए।

खनालले जसरी पनि बालुवाटार पुग्ने शैली नै एमाले बाटो हो। भन्दै कठोर प्रहार गरे । पटक–पटक कम्युनिष्ट नेतृत्वमा सरकार बने पनि कृषि क्रान्ति र भूमिसुधार बिर्सिएको स्वीकार गर्दै उनले अब एकीकृत पार्टीले क्रान्तिकारी मोडेलबाट अघि बढ्नुपर्ने बताए ।

नेता नारायणकाजी श्रेष्ठले एमालेसहित सबै कम्युनिष्टहरूलाई एकताको मोर्चामा आउन अपिल गरे । उनले सभालाई सामान्य सन्देश सभा होइन, संकल्प सभा भन्दै राष्ट्रिय स्वाधीनता, जनयुद्ध–जनआन्दोलनका उपलब्धि र सुशासन–समृद्धिका एजेन्डाको रक्षा गर्न नयाँ एकता अनिवार्य भएको बताए ।

‘जेनजी बिद्रोहको पृष्ठभूमि सुशासन अभाव अवसरहीनतामा रहेको छ। श्रेष्ठले भने ३० लाखभन्दा बढी युवा विदेशिएका छन्, यसलाई रोक्न नसक्ने राजनीति बेमानी हुन्छ ।’
नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली गुण्डु निवासमा बसेर युवा र आफ्नो पार्टीलाई धम्क्याएको आरोप लगाए । 

रावलले भदौ २४ को जेनजी आन्दोलनको समयमा ओली बालुवाटारमै सुतिरहने, अन्त्यमा हेलिकप्टरबाट भाग्ने नेता भएको आरोप लगाए । ‘जेनजी आन्दोलनको भएको मानवीय र भौतिक क्षतिको सम्पूर्ण जिम्मेवारी ओलीले लिनुपर्छ,रावलले भने ।

नेता राजेन्द्र श्रेष्ठले कांग्रेस–एमालेलाई भोट दिनुलाई ‘थारो गाई दुहुन खोजेजस्तो’ हुने टिप्पणी गरे । सोही सभामा नेता गोपाल किराँतीले प्रदेशको नाम कोशी खारेज गर्नु अब पार्टीको बटमलाइन भएको प्रस्ट्याए । ‘पहिचानको मुद्दामा खिल्ली उडाउनेहरू १ नम्बर प्रदेशबाट लखेटिन्छन्।चेतावनी दिँदै किराँतीले भने,कार्यक्रममा कलाकारहरूले विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।