विराटनगर।धरानको उत्कृष्ट नृत्य प्रशिक्षण केन्द्र युनाइटेड डान्स एकेडेमी धरानले आयोजना गर्दै आएको नवौं संस्करणको ‘स्कूल डान्स आइडल–२०८२’ प्रतियोगिताको फाइनल आगामी पुस १४ गते हुने भएको छ । 

धरानका ४४ वटा विद्यालयका ५ हजार ३३५ विद्यार्थी सहभागी भएर जेठ २६ गतेदेखि सुरु भएको प्रतियोगिताले चरणगत छनोटपछि ९ विद्यालयका १० जना उत्कृष्ट फाइनलिस्टको नाम आयोजकले शनिवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

अध्यक्ष सन्तोष तामाङका अनुसार फाइनल प्रतिस्पर्धामा सियोन स्कुलकी प्रयुसा राई, युनाइटेड गोर्खाकी दिपशीखा राई, होलिल्यान्डका हिमाल तामाङ, शिक्षा सन्देशकी आयुष्मा कटवाल र नुयङ्मी राई, भिक्टोरीकी टीका मगर, पर्वतकी युनिशा राई, सिर्जना स्कुलकी सुनैना सेन्चुरी, विष्णु मेमोरियलकी इशा राई र युएन स्कुलकी रुबिना लिम्बू भिड्नेछन् ।

युनाइटेड डान्स एकेडेमीका अध्यक्ष तामाङका अनुसार विजेताले एकलाख नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यो प्रदेश कै ठूलो धनराशीको प्रतियोगिता भएको आयोजकले दावी गरेको हो । पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी मजदुर नेता भिमज्वाला राई, अधयक्ष तामाङ, एकेडेमीका निर्देशक हर्क तामाङलगायतले सार्वजनिक गरे ।

पत्रकार सम्मेलनमा फाइनलिस्ट विद्यार्थी, उनीहरूका अभिभावक तथा गत वर्षका विजेता समेत सहभागी गराइएको आयोजकले बताए। ‘कला तपाईंको, मञ्च हाम्रो’ नारासहितको डान्स आइडललाई आगामी वर्ष अझ परिष्कृत रूप दिन लागिएको आयोजकले जनाएका छन्।