विराटनगर / नेकपा एमाले मोरङको प्रतिनिधि छनौट प्रक्रियामा झमेला भएको छ । संस्थापन पक्ष र इतर पक्षका कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको हो । एमालेको ११औं महाधिवेशनका लागि विराटनगरमा जारी प्रतिनिधि छनोट प्रक्रिया शनिबार केहीबेर अवरुद्ध भएको थियो। पाञ्चालीस्थित पार्टी कार्यालयमा मतदान चलिरहेका बेला कार्यकर्ताबीच हात हालाहाल भएपछि केहीबेर वातावरण तनावपूर्ण बनेको छ ।

वडा १२ का अध्यक्ष भानुभक्त पाठकले अशक्त तथा अपाङ्ग सदस्यको नाममा एकै व्यक्तिलाई पटक–पटक मतदान गराउन लगाइएको भन्दै संस्थापन पक्षका नेता पर्शुराम बस्नेतले कडा आपत्ति जनाएका थिए । बस्नेतको तीव्र प्रतिवादपछि दुवै पक्षका कार्यकर्ता आमनेसामने आएर झडप उत्पन्न भएको थियो।