विराटनगर ।मोरङ, बेलबारी,जंगली हात्ती मारेको आरोपमा कारागारमा रहेर सजाय भोग्दै आएका बेलबारी नगरपालिका–३ का ४७ वर्षीय तेजबहादुर राईको बिहीबार राति मोरङ कारागारमा मृत्यु भएको छ। राति ११ः२० बजेतिर निधन भएको कारागार प्रशासनले पुष्टि गरेको छ।

राईलाई गत साउन २० गते प्रहरीद्वारा पक्राउ गरिएको थियो। भदौ १८ गते अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि उनी मोरङ कारागारमा थुनामा बसेका थिए। पछि अदालतले जंगली हात्ती मारेको मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद सजायको फैसला सुनाएको थियो।

सजाय भुक्तान गरिरहेका राई गत मंसिर १० गते अचानक स्वास्थ्य समस्या देखिएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। श्वासप्रश्वाससम्बन्धी समस्या गम्भीर बन्दै गएपछि उपचारकै क्रममा उनकाे मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए।