विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–१५ रानी अस्पतालबाट २४ घण्टे निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरिएको छ ।
मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ ।
मंगलबार आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको उपस्थितिमा मेयर नागेश कोइरालाले प्रसूति सेवाको उद्घाटन गरेका थिए । महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रसूति सेवा सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको बताए । उनले आफूले चुनावमा गरेको बाचाअनुरुप प्रसूति सेवा सञ्चालनमा ल्याएको स्पष्ट पारेका छन् ।
उपमेयर शिल्पा निराला कार्कीले आगामी दिनमा रानी अस्पतालबाट अन्य सेवालाई विस्तार गरिने बताउँदै, उनले प्रसूति सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएकि थिइन् ।
महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले अस्पतालमा तालिम प्राप्त जनशक्तिको व्यवस्था मिलाई सेवा प्रभावकारी बनाइएको बताए । उनले १९ वटै वडामा एम्बुलेन्स सेवा, गर्भवती महिलाहरूका लागि निःशुल्क भिडियो एक्सरेको सुविधा उपलब्ध गराइएको जानकारी दिए ।























