विराटनगर।त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र जनकनन्दिनी सीताको दिव्य विवाह सम्पन्न भएको पौराणिक स्मृतिमा आज देशभर विवाह पञ्चमी पर्व मनाइँदैछ। राम जानकी मन्दिरमा विशेष पूजा, भजनकीर्तन गरि भक्तजन एकचित्त भएर बस्ने गर्छन्। 

जनकपुरधाममा एकहप्ता देखि तयारी थालिएको समितिले बताए।

मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाममा आज राम–सीताको विवाह महोत्सव विधिवत् रूपमा सम्पन्न हुँदैछ। तुलसीदासकृत रामायणमा वर्णित घटनालाई आधार बनाउँदै प्रत्येक वर्ष मनाइने यो पर्व मिथिलाको प्रमुख सांस्कृतिक पहिचानको रूपमा स्थापित छ । पौराणिक विश्वासअनुसार शिवधनुष भाँचेर रामले सीता वरण गरेको दिनमै यहाँ विवाहोत्सव मनाइन्छ ।

महोत्सवअन्तर्गत मिथिला परम्पराअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिन्छ । राम मन्दिरबाट विशेष डोला सिंहासनमा भगवान् रामको प्रतिमा र जानकी मन्दिरबाट सुशोभित डोलामा जानकीलाई रंगभूमितर्फ लैजाने परम्परा निरन्तर रहेको छ । रंगभूमिमा स्वयंवर र वैवाहिक विधि सम्पन्न भएपछि दुवैलाई पुनः जानकी मन्दिरमा सम्मानपूर्वक पुर्‍याइन्छ ।

पहिले एक महिनासम्म मनाइने यो महोत्सव पछिल्ला वर्षहरूमा चारदिनमा सीमित भए पनि भक्तजनहरूको उपस्थिति र धार्मिक उत्साह भने उस्तै छ । यो अवसरमा भारत–नेपालका सीमावर्ती क्षेत्रबाट आएका भक्तजन पनि ठूलो सङ्ख्यामा सहभागी हुने गरेका छन् ।