विराटनगर। खोटाङ सामाजिक सेवा मञ्चले नेपाली भाषा, साहित्य र कलाक्षेत्रमा दीर्घ योगदान पुर्याएका दुई वरिष्ठ स्रष्टा केदारप्रसाद रेग्मी र श्रीओम श्रेष्ठ ‘रोदन’लाई विराटनगरमा आयोजित समारोहमा सम्मान गरेको छ ।

मञ्च स्थापना भएको तीन दशकभन्दा बढी समयपछि संस्थाले पहिलो पटक विपुल साधना र निरन्तर सिर्जनशीलतासहित साहित्यिक यात्रामा सक्रिय व्यक्तित्वहरुलाई विशेष रूपमा सम्मान गरेको हो ।९५ वर्षीय रेग्मी स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसक्दा उनका पुत्र डा. उत्तमकुमार रेग्मीले सम्मान ग्रहण गरे । विगत सात दशकदेखि नेपाली कविता, निबन्ध र भाषिक अभिवृद्धिमा सक्रिय रेग्मीलाई भाषिक संवद्र्धनको स्तम्भका रूपमा परिचित गराइयो ।

त्यस्तै नेपाल स्रष्टा समाजका अध्यक्षसमेत रहेका वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ प्रत्यक्ष उपस्थित भई सम्मान ग्रहण गरेका थिए । आधुनिक नेपाली कवितामा सामाजिक न्याय, मानव संवेदना र नागरिक चेतना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेका रोदनको योगदानलाई कार्यक्रमका वक्ताहरुले विशेषतापूर्वक स्मरण गरे । रोदनले विविध विधामा सिर्जना विस्तार गर्दै नेपाली साहित्यमा नयाँ विचारधारा भर्नुले उनलाई समकालीन साहित्यको सशक्त आवाज बनाएको उल्लेख गरे ।

कविता, कथा, निबन्ध लगायतका विधामा कलम चलाउँदै आएका श्रेष्ठ गोरखापत्रको पूर्वप्रधानसम्पादकसमेत हुन् । स्रष्टा समाज, लघुकथा समाजलगायत दर्जनौं संस्थाको नेतृत्व गरिसकेका श्रेष्ठ विभिन्न ६ दर्जनभन्दा बढी संघसंस्थाबाट सम्मानित र पुरस्कृत भइसकेका छन् ।
समारोहका प्रमुख अतिथि प्रा. कविराज न्यौपाने र आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले दुवै स्रष्टालाई सम्मान प्रदान गरेका थिए । प्रमुख अतिथि न्यौपानेले भाषा र साहित्यमा अविरल सक्रिय व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताएका थिए ।

कार्यक्रममा अग्रज साहित्यकार विवश पोखरेल, बलराम पोखरेल, समाजसेवी महेश रेग्मी, साहित्यकार एवं पत्रकार प्रदीप सापकोटालगायतले बधाई तथा शुभकामना व्यक्त गर्दै दुवै स्रष्टाको योगदान ऐतिहासिक र प्रेरणादायी भएको बताए ।

साहित्यकार बाबुराम पोखरेलले सम्मानित दुवै व्यक्तित्वको जीवन, कृति र योगदानबारे प्रास्ताविक टिप्पणी राखेका थिए । कार्यक्रममा मधु पोखरेल, सरला चापागाईं, डा. देवी पन्थी, हरिप्रसाद बराल, हरि कट्टेल, पुष्पा सायरा, यमुना भट्टराई, दिङ्लाली कान्छोलगायत तीन दर्जनभन्दा बढी कवि तथा साहित्यकारले समसामयिक विषय, सामाजिक विकृति र उज्यालोको पक्षमा आ–आफ्नो रचना वाचन गरेका थिए ।

मञ्चका अध्यक्ष मार्सेलीको अध्यक्षता र लक्ष्मी पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी स्रष्टाहरूले साहित्य समाज सुधारको आधारशिला भएको र यस्ता सम्मानले सिर्जनालाई थप प्रेरित गर्ने बताए ।

खोटाङ सामाजिक सेवा मञ्चले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।



Messenger_creation_D5295E46-E919-481E-AD4E-62656799D946