विराटनगर।सुनसरीको इटहरीबाट हराएकी ३५ वर्षीया मन्जु पौडेल निरौलाको शव पाँच दिनपछि धरान–४ स्थित सर्दु जलाधार क्षेत्रमा फेला परेको छ । परिवारका अनुसार मन्जु कात्तिक २४ गते बिहान घरबाट निस्किएकी थिइन् । त्यसपछि उनी सम्पर्कविहीन रहेकी थिइन् ।
इटहरी उपमहानगरपालिका–२ की बासिन्दा मन्जु घर नफर्किएपछि उनका परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएका थिए । निवेदन दर्ता भएको तीन दिनपछि कात्तिक २७ गते धरान उपमहानगरपालिका–४ बौद्ध विहार नजिकै कोशी लोकमार्ग छेउमा मन्जुको रातो लेडिज स्विटर, कालो चप्पल, खैरो ब्याग र सल फेला परेको थियो ।
फेला परेका वस्तुहरूको आधारमा परिवारले ती वस्तुहरू मन्जुको भएको पुष्टि गरेपछि प्रहरीले खोज तथा अनुसन्धानलाई तीव्र पारिएको छ । जलाधार क्षेत्रको खोल्सामा मंगलबार दिउँसो प्रहरी नायब निरीक्षक भीमबहादुर बस्नेतको नेतृत्वमा मन्जुको शव मृत अवस्थामा फेला परेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको जानकारी दिए।




















