फूलको  चोट  भमराले  देख्छ  होला  नि

फूलले पनि पिरको कथा लेख्छ होला नि?


कोपिलामै  चुँडिनुको दुखाई कस्तो  हुन्छ

निमोठिँदा आर्तनादको रुवाइ कस्तो हुन्छ

कहिले घाम कहिले पानी हावा अनि हुरी

साथमै हुन्छ सुबास सधैँ हुन्न फूलको दूरी


फूलले पनि  मनमा चोट राख्छ होला नि

देवी अनि  देउरालीलाई भाक्छ होला नि?


सुखमा'नि फुल्छ फूल पिरमा पनि फुल्छ

सजिएर  यौवनाको  शिरमा  पनि  फुल्छ

बिर्सिएर  ओइलिनुको  पिर र  व्यथालाई

डाली  डाली मुस्कुराउँछ  मिठो गीत गाई


फूलले पनि मिठो सपना देख्छ होला नि

हर पत्रमा आफ्नो  कथा लेख्छ होला नि?


नवशिला ।

बेलबारी - २, नवदेव मार्ग, लालभित्ती, मोरङ ।

Shila Bhandari Pokharel