विराटनगर  । नेपाल वन निगम कोशी प्रदेशले साल जातका गोलिया काठको कटान, मुछान र ग्रेडिङ प्रक्रियामा गरेको अनियमितता र भ्रष्टाचारका गतिविधिप्रति नेपाल वन पैदावार उद्योग व्यवसायी संघ, सुनसरीले ध्यानाकर्षण भएको जनाएको छ । 


संघका अध्यक्ष डिक बहादुर भूजेल र सचिव कृष्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ।'डिभिजन बन कार्यालय सुनसरी अन्तर्गत पाँचकन्या, विष्णुपादुका, नडाहा, कुमरखत र तरहरा सव–डिभिजन बन कार्यालय क्षेत्रभित्र आर्थिक वर्ष २०८१।८२मा नेपाल वन निगम, शाखा कार्यालय विराटनगरले गरेको सालको कटान, मुछान र ग्रेडिङ्ग कार्यमा गम्भीर अनियमितता भएको तथ्य विभिन्न मितिमा प्रकाशित समाचारमार्फत बाहिर आएको छ । संघले सो घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।'


संघका अनुसार निगमले व्यक्तिगत तथा संस्थागत फाइदाका लागि 'ए ग्रेड’ काठलाई ‘‘बी ग्रेड’ बनाइ राज्यको राजश्व नोक्सान पुर्‍याउने कार्य गरेको छ । विज्ञप्तिमा भनिएको छ,राज्यको सम्पत्तिबाट स्वार्थपूर्ति गर्ने यस्ता गलत कार्यको निरन्तर भर्त्सना गर्दै हामी सम्पूर्ण सचेत नागरिक र सञ्चारकर्मीहरुलाई खबरदारी गर्न आग्रह गर्दछौं ।'


संघले वन निगमको काम गर्ने शैली नै लक्षित उद्देश्यविपरीत रहेको आरोप लगाएको छ । संघका अध्यक्ष भूजेलका अनुसार, नेपाल सरकार मातहतका दुई निकाय ,नेपाल बन निगम र जिल्ला बन पैदावार आपूर्ति समितिको उद्देश्य समान भए पनि निगमले आफ्नो सेवा दायित्व पन्छाएर व्यापारिक गतिविधिमा संलग्न हुँदै आएको छ ।