नारी हुन् उनी
अवगत छ सबैलाई
परोइन सुगा रटाई रटाइरहन,
सजीव छन् उनी, ठिङ्ङ उभिन्छिन्
मौन छन् मनमा भोलिका कुराहरू लिएर
केलाइरहन्छिन् कुरा उनी राम्रो नराम्रो, भविष्य सम्झेर
खोज्न पाउँदिनन् मनमा शान्ति र खुशीको समय
रोज्न पाउँदिनन् स्वतन्त्र आफूले हिँड्ने गोरेटो,
आखिर किन ...? प्रश्न सूचक मात्र छ अघाड़ि
मधुर मुस्कान छन् उनका अधरमा
कति कष्ट, उल्झन र समस्या छ जीवनमा
कसले बुझेको छ उनको अन्तर मनको कुरा।
हुनतः हुन् उनी -
आधा संसारकी धनी,
कसैकी आमा, कसैकी अर्धाङ्गिनी
दिदी, बहिनी र भाउज्यू हुन्
दुइ परिवारकी सेतु
सन्तानकी पहिलो गुरु ।
हुन् उनी कसैकी छोरी
हुन पुगिन घरकी गृहलक्ष्मी
एकअर्कासित सम्बन्ध स्थापित गर्ने
सम्पर्क सेतु !
र पनि
उनका अगाड़ि असङ्ख्य प्रश्न चिह्नहरू
फेरि ठड़िन्छन् ?
हुन् उनी कसैकी धर्मपत्नी, कसैकी भाउज्यू
कुनै घरकी बुहारी, कसैकी चेली, देशकी विराङ्गाना
कार्यालयकी बाबुनी, मेड़म र महोदया
अन्ततः सेवा नै धर्म हो उनको
छोड़ेर जन्मेको जन्मघर, खेलेको आँगन,
पढ़ेको पाठशाला र बिर्सेर साथी-सङ्गी
थर,जात, गोत्र र आमा-बाबाले दिएको
भुलेर चिह्नारी, संस्कृति र परम्परा
दुइ घरको पवित्र सम्बन्ध
कहिल्यै नफुक्ने बन्धनमा कसेर पनि
गन्तव्य खोजिरहन्छ
मनको सारथीले अनन्ततिर ।
रहर, उमङ्ग, उत्तेजना, भविष्य र कर्तव्यलाई दबाएर
दुवै घरका झ्याल ढोका खुल्ला हुन्छन् उनका
अन्तत ......
कल्पनामा गुम्सिएका होलान्,
आखिर यी पीड़ा, आकाङ्क्षा र रहरहरू
मनदेखि मनसम्म, दुःखदेखि सुखसम्म
उजागर गर्न पनि
मेलापात, बनजङ्गल र पानी पँधेरो पर्खिनुपर्छ उनलाई ।
फुर्सदमा, सम्झनामा झस्किन्छिन् उनी
आखिरमा समयले नेटो काटिसकेको हुन्छ,
अनि कल्पना गर्दछिन् आफैँलाई आफैँसित
यो त स्वयंमा एउटा कमजोरी हो, भ्रम हो ।
उनको स्वाभिमान ?
मनको साथीले सोधिदिन्छ उनलाई
तर कमजोर भने अवश्य होइनन् उनी
कोमलता मात्र हो उनको कमजोरी !
मनले नै भनिदिन्छ।
नारी हुन् उनी,
पूजामा दुर्गा, सरस्वती, लक्ष्मी र पार्वती
बहादुरीमा लक्ष्मीबाई
हुन् उनी ममतामयी आमा
संसारकी सृष्टिकर्ता, विश्व निर्माता
विश्व विजेता विराङ्गाना,
निर्मल जल हुन् उनी,
बन्जर जमीन सिञ्चन गर्नुपर्छ उनले
परिस्थितिले भोगेको बाँचेको जीवन पनि
आकार आकारमा सजिएको बनाउनुपर्छ उनले
अनि
समयले जुन आकारमा भर्छ अनि पोखाउँछ
उनी त्यही आकारमा सजिन सक्नुपर्छ उनले
किन कि उनी आकारविहीन हुन्
अनि फेरि
आकारै आकारले झरिझुट्ट भरिएर
यस पवित्र धरामा
सजिएर उभिनुपर्छ
किन कि उनि
सदैव गन्तव्य खोजी रहने
गन्तव्य बिहिन उनी नारी हुन्
गीताश्री शर्मा
मिलनमोड़, सिलगढ़ी




















