विराटनगर ।इटहरी ,एपेक नेपाल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा ‘एपेक राष्ट्रिय काव्य–महोत्सव तथा काव्यचित्र सिर्जना शिविर सम्पन्न भएको छ ।काव्यमहोत्सवको उदघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । सातै प्रदेशका १४ जना कवि र १४ जना चित्रकारहरूको संयुक्त सहभागितामा सम्पन्न कार्यक्रममा कविता र चित्रकलाको माध्यमबाट नेपाली कला, साहित्य र सृजनात्मक भावनाको समन्वय प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रत्येक कविको काव्य वाचनसँगै चित्रकारहरूले त्यसै काव्यको भावनालाई क्यानभासमा चित्रमार्फत् अभिव्यक्त गरेका थिए ।कविहरूले आफ्ना सिर्जना प्रस्तुत गरिरहँदा चित्रकारहरूलाई चित्रसहित छेवैमा बस्ने व्यवस्था मिलाइएको थियो । यस वर्षको संस्करणमा कोशी प्रदेशबाट अस्मिता विष्ट र धीरज राई, बागमती प्रदेशबाट गणेश श्रमण र एलिसा एकलास, मधेश प्रदेशबाट मनोज लोहार विश्वकर्मा र सपना कर्ण ‘मनोरमा’, गण्डकी प्रदेशबाट निकेश गिरी र रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट रसिक राज र चन्द्र जीएम, कर्णाली प्रदेशबाट कल्पना पलक र लक्ष्मण मानव तथा सुदूरपश्चिम प्रदेशबाट मोहित जोशी र खेम बतासले सहभागिता थिए । सोल्टी होटलको सभाहलमा कविता प्रस्तुत गरिएको थियो। कवि र कलाकार र साहित्यकारको बाक्लो उपस्तिथि थियो।कार्यक्रम एपेक नेपालका अध्यक्ष वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठले,सोचेभन्दा राम्रो भएको बताए । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले साहित्य र कलाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उल्लेख गरे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले साहित्य र कलाको प्रवद्र्धनका लागि सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा एपेक नेपालका निर्देशक राजेन्द्र शलभ, वरिष्ठ कवि उषा शेरचन, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्षसमेत रहेका साहित्यकार विवश पोखरेल, कवि मनु मञ्जिललगायतले मन्तव्य व्यक्त गरे ।






















