विराटनगर। मञ्चमा बोल्दाबोल्दै अस्ताएका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ।निधनपछि सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जलीका शब्द मात्र हैन गालीको वर्षा  ओइरिरहेका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा ४, भैरवस्थान स्थायी बासिन्दा भएका ६३ वर्षीय गौतम लामो समयदेखि बुटवल बसोबास गर्दै आएका थिए।

रूपन्देही जिल्लाका १३ वटा उद्योगको ट्रंकलाइन रकम नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोधमा बिहीबार भैरहवास्थित विद्युत् कार्यालयअगाडि सम्बोधनका क्रममा गौतम ढलेका थिए। अचानक ढलेका गौतमलाई उपचारका लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याउनेबित्तिकै उनको मृत्यु भएको थियो।

पारिवारिक स्रोतका अनुसार उनी मधुमेह रोगबाट पीडित थिए। उनको निधनबारे पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।