सुन्दरहरैँचा ।मोरङको, सुन्दरहरैँचामा स्रष्टा भेटघाट तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । गजलकार तथा गायक राज यात्री लम्सालको स्वागतार्थ सुन्दरहरैँचा, मोरङमा भेटघाट तथा रचनावाचन कार्यक्रमको आयोजना गरिएको थियो ।
सुन्दरहरैँचा –८, सलकपुर, मोरङ स्थायी बसोबास रही विगत लामो समय समयदेखि रोजगारीका क्रममा संयुक्त अरब एमिरेट्समा रहेका गजलकार लम्सालले लम्सालले उक्त अवसरमा एक दर्जनजति गीत तथा गजल सुनाएका थिए । उनले धेरैजसो सङ्गीगतबद्ध गजल गाएका थिए । उनलाई कलाकारहरू पुण्यप्रसाद सङ्ग्रौला, भूमा अधिकारी, शर्मिला सिग्देल, लीला सङ्ग्रौला, आइतराज लिम्बूले साथ दिएका थिए ।
२०७२ सालमा ‘मेरो यात्रा’ गीत÷गजल एल्बम प्रकाशनमा आएको छ भने उनको २०६४ सालमा ‘विम्ब’ भाग –२ संयुक्त एल्बम प्रकाशनमा आएको छ । यसका साथै विभिन्न पत्रपत्रिकामा उनका फुटकर रचनाहरू प्रकाशन हुँदै आएका छन् । उनी चाडपर्व मनाउन गृहनगर आएको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको थियो । सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्य तथा कोसी प्रदेश इन्चार्ज र साहित्यपोस्ट युएई संयोजकसमेत रहेका उनले ग्लोरी भ्वाइस आइकन अनलाइन गायन प्रतियोगितामा २०७४ मा तृतीय, माउन्ट मिडिया विश्व सेवा, बोधी एज डी तथा नेपाल म्युजिक फाउनडेसनको संयुकत आयोजनामा भएको विश्वव्यापी गजल प्रतियोगितामा २०७५ मा तृतीय र पाँचथर गजल मञ्चले २०७५ सालमा आयोजना राष्ट्रिय गजल प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेका छन् ।
वैरागीकुटी, सुन्दरहरैँचा –९, विराटचोक, मोरङमा आयोजित स्रष्टा भेटघाट तथा रचनावाचन कार्यक्रममा अग्रज स्रष्टा, वरिष्ठ साहित्यकार हर्कमान तामाङ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष एवम् कवि डा. छवि वैरागी घिमिरे, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष, लेखक तथा अनुसन्धानकर्ता केशु विरही, भानु साझा पुस्तकालयका अध्यक्ष एवम् कवि पुरन याक्खा, बेलबारी साहित्य विकास समितिका अध्यक्ष एवम् गजलकार रमेश निरौला, सामाजिक व्यक्तित्व तारा घिमिरे, स्रष्टाहरू प्रिन्स प्रमोदकुमार ढकाल, नवराज पोखरेल, ‘नवशिला’, सिजन श्रेष्ठ, रमेश निरौला, चिरञ्जीवी काफ्ले, प्रकाश भट्टराई, युवराज ठकुरी, गीताप्रसाद श्रेष्ठ, रूपनारायण श्रेष्ठ, वासु अधिकारी, सुन्दर भट्ट, एकराज भट्टराई, मनोज कार्कीलगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा पुरन याक्खा, रमेश निरौला, सिजन श्रेष्ठ, प्रिन्स प्रमोदकुमार ढकाल, नवराज पोखरेल, ‘नवशिला’, चिरञ्जीवी काफ्ले, प्रकाश भट्टराई, गीताप्रसाद श्रेष्ठ, रूपनारायण श्रेष्ठलगायतका स्रष्टाहरूले रचनावाचन गरेका थिए ।
कार्यक्रमको संयोजन कोसी साहित्य–कला परिषद् नेपालले गरेको थियो । संस्थाले यस्तै प्रकारको कार्यक्रम यसअघि रङ्गेलीमा चिरञ्जीवी काफ्ले र बेलबारीमा नवराज पोखरेल ‘नवशिला’ को घरमा सम्पन्न गरिसकेको थियो । अनौपचारिक रूपको कार्यक्रम भए पनि यो तेस्रो शृङ्खलाका रूपमा रहेको कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही बताउँछन् । उनी भन्छन्, यसरी ‘घरमै पुगेर गरिने यसप्रकारको कार्यक्रमले स्रष्टासँगको भेटघाट, अन्तरङ्ग छलफलका साथै नयाँ नयाँ स्वादका साहित्यिक रचनाको रसास्वादन गर्न सकिने रहेछ । त्यही भएर, हेर्दा सामान्यजस्तो लागे पनि हामीले यस प्रकारको कार्यक्रमलाई महत्त्व दिइरहेका छौँ ।’




















