विराटनगर । सूर्य उपासना र शुद्धताको प्रतीक मानिने छठ पर्वको मुख्य दिन आज देशभर निष्ठा र श्रद्धासँग मनाइँदै छ। चार दिनसम्म मनाइने यो पर्वमा आजको दिन अर्थात् व्रतको मुख्य दिन विशेष धार्मिक महत्वका साथ मनाइन्छ।

आज व्रतधारी महिलाहरूले दिनभर निर्जला व्रत बसेर साँझ सूर्यास्तका बेला जलाशयमा पसेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्छन्। भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो व्रतको समापन गरिन्छ।

यो पर्वमा सूर्यदेव र अर्काको पूजा–अर्चना गरिन्छ। धार्मिक विश्वास अनुसार, छठ व्रत बस्नाले मनोकामना पूरा हुने, पारिवारिक सुख,शान्ति प्राप्त हुने र स्वास्थ्य लाभ हुने जनविश्वास रहिआएको छ।

छठ पर्व विशेषगरी तराई–मधेस क्षेत्रका साथै देशका विभिन्न सहरमा समेत उत्साहपूर्वक मनाइँदै छ। घाटहरूमा व्रतधारी र भक्तजनको भीड बढ्दै गएको छ भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।