विराटनगर।भारतबाट लुकाइछिपाइ ल्याइएका सयपत्री फूलका माला बजारमा सस्तोमा बिक्री हुन थालेका छन्। तिहारको अवसरमा माग बढे पनि भारतबाट चोरीछिपी ल्याइएका मालाका कारण मूल्य घटेको उपभोक्ताहरू बताउँछन्।

स्थानीय बजारमा लक्ष्मीपूजाको दिन चार सय रुपैयाँमा पर्ने एक माला आज मात्र एक सय रुपैयाँमा झरेको उपभोक्ता करिना तामाङले बताइन्। उनका अनुसार, “भारतबाट फूलका माला लुकाइछिपाइ ल्याइँदा बजारमा प्रतिस्पर्धा बढेको र त्यसले मूल्य घटाएको हो।”

यसअघि सरकारले भारतबाट सयपत्री फूल आयातमा प्रतिबन्ध लगाएको थियो। तर, पछिल्ला दिनहरूमा सीमावर्ती क्षेत्र हुँदै चोरीछिपी माला भित्र्याउने क्रम रोकिएको छैन।

स्थानीय व्यवसायीहरूले भने स्वदेशी उत्पादनका फूल किसानले उब्जाउन नसक्दा बजारमा विदेशी फूलको प्रभाव देखिएको बताएका छन्। प्रशासनले अवैध रूपमा ल्याइएका फूल र माला बरामद गरी नष्ट गर्ने कार्य निरन्तर अघि बढाएको छ।