विराटनगर।सुनसरी ,चौथो कोसी प्रदेशस्तरीय कविता प्रतियोगिता २०८२ को उपाधि केशव रिमालले हात पारेका छन् । ११७ औँ लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्तीको अवसर पारेर पूर्वेली साहित्यिक मञ्च, बराह –६ चक्रघट्टी, सुनसरीले आयोजना गरेको सम्पन्न प्रतियोगितामा १९ जना प्रतिष्पर्धिलाई पछि पार्दै सुनसरीका रिमालले उक्त उपाधि हात पारेका हुन् ।
प्रतियोगितामा सुनसरीकी सगुन पोखरेल दोस्रो, भोजपुरकी दीपा लुइटेल तेस्रो, सुनसरीकी पुष्पा बोगटी चौथो स्थान हासिल गरिन् । त्यसैगरी सुनसरीकी मिलनकुमारी नायकलाई प्रतियोगितामा प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेले १२ हजार नगदसहित प्रमाण पत्र, द्वितीयले ७ हजार नगदसहित प्रमाण पत्र, तृतीयले ४ हजार नगदसहित प्रमाण पत्र र सान्त्वनाले २ हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेका थिए ।
प्रतियोगितामा प्रदेशभरिबाट ८४ ओटा रचनाहरू प्राप्त भएका र ती रचनाबाट उत्कृष्ट २० छुट्याइएको आयोजक संस्थाका अध्यक्ष सन्तोष चम्लागाईंले बताए ।
वरिष्ठ कवि मनु मञ्जील प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, सिर्जनामा इनरुवाका सचिव रमेन्द्र कोइराला, नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभागका सदस्य रामप्रसाद खरेल, स्रष्टाहरू रोशन परियार र टिङ्कु भट्टराईलगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा साहित्यका अतिरिक्त सामाजिक तथा राजनीतिक व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा लेखक तथा अनुसन्धाता केशु विरहीले लक्ष्मीप्रसाद देवकोटाका विषयमा चर्चा गरेका थिए । पत्रकारसमेत रहेका विरहीले जीवनी र व्यक्तित्वका विभिन्न पाटाका बारेमा अध्ययन गर्दै देवकोटाजस्ता व्यक्तिका कारण नेपाली भाषा र साहित्यको उचाइ माथि पुगेको बताए ।
कोसी प्रदेशका विभिन्न जिल्लाका स्रष्टा÷कलाकारहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा नवराज पोखरेल ‘नवशिला’, प्रिन्स प्रमोदकुमार ढकाल, रमेन्द्र कोइराला, अच्युत भट्टराई, हिक्मत खड्का, दुर्गा बस्नेत, साजन कोइरालालगायतले अप्रतियोगी रचना वाचन गरेका थिए ।
प्रतियोगितामा निर्णायकका रूपमा कवि भरत बर्बरिक, कवि तथा समीक्षक टीका आत्रेय र अनुसन्धाता रमेश काफ्ले रहेका थिए ।
कार्यक्रममा पत्रकारिताको माध्यमबाट साहित्यलाई योगदान पु¥याउने सङ्गम विष्ट र अर्जुन श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । त्यस्तै उक्त संस्थाको विकासमा उल्लेखनीय योगदान पुर्याएवापत् गजलकार रोमु अधिकारीलाई सम्मान गरिएको थियो ।
पूर्वेली साहित्यिक मञ्चका अध्यक्ष सन्तोष चम्लागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने युवराज भट्टराईको रहेको थियो ।




















