विराटनगर ।असोज ३ हमासद्वारा बन्धक बनाइएका नेपाली युवक विपिन जोशीको पार्थिव शरीर आज धनगढी पुर्याइने भएको छ। फ्लाइ दुबईको विमानमार्फत उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएपछि विमानस्थलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू र सुरक्षाकर्मीहरूले दिवंगत जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मानजनक रूपमा अन्तिम श्रद्धाञ्जली दिइएपछि नेपाली सेनाको स्काईट्रकमार्फत विपिनको पार्थिव शरीर धनगढी पुर्याइने भएको हो। सेनाको स्थानीय युनिटले शवलाई धनगढी हुँदै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लग्ने तयारी गरेको छ।
विपिन जोशी सन् २०२३ मा हमासद्वारा अपहरणमा परेका थिए। पछिल्ला दिनमा हमासले फिर्ता गरेका बन्धकहरूको सूचीमा उनको नामसमेत समावेश भएपछि उनको मृत्युको पुष्टि भएको हो।




















