विराटनगर ।ओमान क्रिकेट एकेडेमीमा सम्पन्न आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको च्याम्पियन नेपालले बनेको छ।

सुपर–६ को अन्तिम खेलमा नेपालले समोआलाई १२४ रनले पराजित गर्दै अपराजित रहँदै च्याम्पियन बनेको हो। यसअघि नै विश्वकपमा छनोट भइसकेको नेपालले समोआलाई हराएसँगै उपाधि समेत हात पारेको हो।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराउँदै सुपर–६ मा स्थान बनाएको थियो। सुपर–६ चरणमा नेपालले युएई, कतार, ओमान र समोआलाई हरायो। नेपालले कुल १० अंक जोड्दै शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा ओमान ८ अंकसहित र तेस्रो स्थानमा युएई ६ अंकसहित रहे। छनोटबाट नेपालसँगै ओमान र युएईले पनि विश्वकपको यात्रा सुनिश्चित गरे।

शुक्रबारको खेलमा नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा समोआ २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमै सीमित रह्यो। नेपालका ललित राजवंशीले ३ विकेट लिए भने समोआका सिन सोलियाले ४० रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार पारेको थियो।